अशक्त भए तापनि आफूलाई कसरी मूल्यवान ठान्न सिक्ने
अशक्त होउन् वा नहोउन् हुर्कदै गर्दा महिलाले सकेजति उत्तम तरिकामा जिउन आफ्नो परिवार, स्कुल र समाजबाट मदत पाउँछिन भने तिनको आत्मसम्मान बढ्छ। तर यदि आफ्नो अशक्तताको कारण आफूलाई अरूभन्दा तुच्छ महसुस गरेर हुर्केकी महिलाले आफूलाई मूल्यवान् ठान्न धेरै मेहनत गर्नुपर्छ। यसो गर्न सजिलो छैन, तर स-साना कदमहरू चालेर सफल हुन सकिन्छ।
पहिलो कदम भनेको अरू मानिसहरूसित भेट्नु हो। तपाईंलाई अरु महिलाहरूले चिन्न थालेपछि अशक्तता भएका महिला र नभएका महिलाबीच खासै फरक छैन रहेछ भनेर तिनीहरूले थाह पाउनेछन्। जति पटक तपाईं बाहिर जानुहुन्छ, त्यत्ति नै पटक अरूसित भेट्न र कुराकानी गर्न सजिलो महसुस हुनेछ।
दोस्रो कदम भनेको महिलाहरूको समूह सुरूवात गर्ने वा आफू यस्तो समूहमा संलग्न हुने हो। अरूसित कुराकानी गर्नुभयो भने आफ्नो बलियो पक्ष र कमजोर पक्ष पत्ता लगाउन सक्नुहुनेछ। समूह भित्र गरेको कुराकानी समूह बाहिर नफैलाउने भनी सबैले सहमति गरेमा खुलस्त कुराकानी गर्ने वातावरण तयार हुन्छ।
तपाईं कुनै समूहमा संलग्न हुन सक्नुहुन्छ वा अशक्तता भएका महिलाहरूका लागि एउटा समूह सुरु गर्न सक्नुहुन्छ। उक्त समूहमा अशक्तताको कारण आफूले अनुभव गरेका विशेष चुनौती र धारणाबारे कुराकानी गर्न सक्नुहुन्छ। तपाईंहरूले खुसी र गाह्रो दुवै समयमा एकअर्कालाई मदत दिन सक्नुहुन्छ।
आत्मनिर्भर कसरी हुने भनेर सिक्न एकअर्कालाई मदत गर्नुपर्छ। संसारभरिका अशक्तता भएका महिलाहरूले अहिले डाक्टर, नर्स, पसले, लेखक, शिक्षक, किसान र समाज सेवकको रूपमा काम गर्दै छन्। एकअर्काको मदतले तपाईंले पनि अरू अशक्तता नभएका महिलाले जस्तै भविष्यको तयारी सुरु गर्न सक्नुहुन्छ।
महत्त्वपूर्ण: तपाईंले गर्न सक्ने कुरामा ध्यान केन्द्रित गर्नुहोस्, गर्न नसक्ने कुरामा होइन।