आत्महत्या गर्ने सोचाई आउँदा यसबारे कसैसित कुरा गर्नु किन महत्त्वपूर्ण छ
विशेषगरि आत्महत्या गर्ने महिलाहरूले प्राय एक्लो महसुस गर्छन्, त्यागिएको महसुस गर्छन्, निराश महसुस गर्छन् र कुनै-कुनै बेला आशाविहीन महसुस गर्छन्। तिनीहरू कसैसित पनि कुरा गर्न चाहँदैनन्, किनभने कसैले पनि मदत गर्न सक्दैन भनेर तिनीहरू सोच्ने गर्छन्। आफूले महसुस गरिरहेको कुराबारे अरूलाई बतायो भने लाजमा परिएला कि भनेर तिनीहरूले सोच्ने गर्छन्।
तर आफूले महसुस गरिरहेको कुराबारे अरूसित कुरा गर्दा वा त्यसबारे छलफल गर्दा तपाईंले धेरै मदत पाउनुहुनेछ। तपाईंले आफ्नो कुरालाई गोप्य राख्ने भरोसायोग्य व्यक्ति (साथी, परिवार, छिमेकी वा सहकर्मीमाझ) खोज्न सक्नुहुन्छ वा तपाईंको समाजमा स्वास्थ्यकर्मी वा धर्मगुरू छन् भने तिनीहरूसित मदत माग्न सक्नुहुन्छ। तपाईंको जस्तै समस्या सामना गरिरहेका व्यक्तिहरू र तपाईंसित आफ्नो भावना बाँडचुड गर्न र सुन्न इच्छुक महिलाहरू छन् कि, पत्ता लगाउन सक्नुहुन्छ।
केही महिलाहरूले नचिनेका व्यक्तिहरूलाई आफ्नो समस्या बताउन सजिलो मान्छन् (किनभने यसो गर्दा तिनीहरू लज्जित महसुस हुनु पर्दैन र कसैको पक्ष नलिइकन दिइने सुझाव तिनीहरूले पाउन सक्छन्।) धेरै देशहरू र क्षेत्रहरूमा आत्महत्याको रोकथाम गर्न प्रबन्ध गरिएका हटलाइन उपलब्ध छन्, जसमा तपाईंले इन्टरनेटमार्फत फोन गरेर वा च्याट गरेर कुरा गर्न सक्नुहुन्छ। यदि तपाईं चाहनुहुन्छ भने आफ्नो परिचय नखुलाइकन र गोप्यरूपमा नै यसो गर्न सक्नुहुन्छ। यस्तो सेवाको लागि पैसा पनि तिर्नु पर्दैन र आफ्नो नाम बताइरहनु आवश्यक छैन। यी हटलाइनहरू कुनै राजनीतिक र धर्मसित सम्बन्धित हुँदैन। त्यहाँ काम गर्ने व्यक्तिहरूले आफ्नो विश्वास तपाईंमाथि थोपर्न खोज्दैनन्, बरू तिनीहरू तपाईंको कुरा सुन्नको लागि त्यहाँ बस्छन्।
तपाईंको देशको लागि हटलाइन नम्बर यहाँ हेर्न सक्नुहुन्छ: http://www.befrienders.org/
कसैसित कुरा गर्दा तपाईंले समस्याको जड पत्ता लगाउने र त्यसलाई बुझ्ने मात्र नभइ सम्भाव्य समाधान पनि भेट्टाउन सक्नुहुन्छ।
तपाईंको ख्याल राख्ने व्यक्तिसित च्याट गर्दा पनि धेरै मदतकारी हुन सक्छ। तपाईंलाई सङ्गत गर्न मनपर्ने साथी वा परिवारका सदस्यहरूकहाँ जाँदा पनि ठूलो प्रभाव पर्न सक्छ। तपाईंले कस्तो महसुस गर्दै हुनुहुन्छ र किन महसुस गर्दै हुनुहुन्छ भनेर बताउँदा तनाव धेरै कम हुन्छ, यसले गर्दा फेरी भित्री सन्तुलन कायम गर्न आवश्यक कुराहरू पाउन सकिन्छ।