केटाहरूभन्दा के म कम महत्त्वपूर्ण छु
महिलाहरूले आफूलाई जुन दृष्टिकोणले हेर्छन् त्यस्तै तरिकाले उनीहरूमा परिवर्तनहरू पनि हुँदै जान्छ। त्यसैले किशोरीहरूले सानो छँदा आफ्नो बारेमा राम्रो महसुस गर्नु धेरै महत्त्वपूर्ण छ। यसो गरेमा तिनी पूर्ण रूपमा हुर्किन र बढ्न पाउँछिन् र समाजलाई एउटा राम्रो ठाउँको रुपमा परिवर्तन गर्न मदत गर्न सक्छिन्। एउटी किशोरीको परिवार र समाजले तिनी मूल्यवान् छिन् भनेर देखाउँछन् भने तिनले पनि आफूबारे राम्रो महसुस गर्न सिक्नेछिन्।
थुप्रै ठाउँहरूमा किशोरीहरूलाई, किशोरहरूभन्दा कम महत्त्वपूर्ण छन् भनेर हुर्काइन्छ। तिनीहरूलाई आफ्नो शरीरको विषयमा र स्त्री हुनुमा लाजमर्दो कुरा हो भनेर सिकाइन्छ। साथै आफ्नो दाइ वा भाइले भन्दा आफूले कम शिक्षा हासिल गर्दा, कम खानेकुरा खाँदा, धेरै दुर्व्यवहार भोग्दा र धेरै काम गर्नु पर्दा पनि त्यसलाई तिनीहरूले स्विकार्न सिक्छन्। यसले गर्दा तिनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्ने मात्र नभइ आफ्नो बारेमा नराम्रो महसुस हुन थाल्छ। साथै तिनीहरू भविष्यको लागि सही निर्णय गर्न पनि चुक्छन्। जब किशोरीहरूलाई यस्तो तरिकामा हुर्काइन्छ भने तिनको समाजले पनि किशोरीहरूलाई, किशोरहरू जत्तिको मूल्यको ठान्दैन भनेर देखाउँछ।
तर यदि तिनको समाजले, चाहे पुरूष होस् वा महिला हरेक व्यक्तिलाई मूल्यवान् ठान्छ भने तिनी आफ्नो बारेमा राम्रो महसुस गरेर हुर्किन्छिन्। आफ्नो जीवन, आफ्नो परिवार र छिमेकीको जीवनलाई पनि राम्रो बनाउन सक्षम छिन् भनेर महसुस गर्नेछिन्।
समाजले महिलाहरूलाई जस्तो व्यवहार गर्छ, परिवारले किशोरीलाई गर्ने व्यवहारमा पनि त्यसले असर गर्छ। उदाहरणको लागि यदि कुनै सामाजले किशोरीले पनि कुनै न कुनै सीप सिक्नुपर्छ भनेर सोंच्छ भने त्यस समाजमा बस्ने परिवारले पनि आफ्ना छोरीहरूले सकेसम्म लामो समय स्कुलको पढाइ गरेको चाहन्छन्। तर यदि समाजमा महिलाहरूले 'महिलाले गर्ने काम' मात्र गर्नु पर्छ भनेर भनिन्छ र तिनीहरूलाई कुनै कार्यक्रममा भाग लिन दिइँदैन भने त्यस्तो समाजका परिवारहरूले आफ्ना छोरीहरूलाई शिक्षा दिनुपर्छ भनेर ठान्दैनन्।