दिशा पिउने पानी, खानेकुरा, हात, भाँडाकुडा वा खाना तयार गर्ने ठाउँमा परेमा यी कुराहरूको माध्ययमबाट किटाणु बच्चा तथा वयस्कहरूको पेटमा पुग्छ र तिनीहरूलाई झाडापखाला हुन्छ।
हैजा वा झाडापखाला फैलिन नदिन यी तरिकाहरू अपनाउन सकिन्छ:
दिशा गरिसकेपछि, दिशा छोएपछि, खानेकुरा छुनुअघि वा खाना तयार गर्नुअघि, खाना खानुअघि र बच्चालाई खुवाउनुअघि सधैं साबुन-पानी वा खरानी-पानीले हात धुनुहोस्।
साना बच्चाहरूले प्राय आफ्नो मुखमा हात हाल्ने गर्छन्। त्यसैले घर वरिपरि सफा राख्नुका साथै तिनीहरूले बेला-बेलामा हात धोइरहनुपर्छ। बच्चाहरूलाई विशेषगरि दिशा गरिसकेपछि र खाना खानुअघि हात धुनुपर्छ भनेर सिकाउनुपर्छ।
शिशु र साना बच्चाहरूले गरेको दिशा शौचालयमा फ्याँक्नुहोस् वा बाहिर पुर्नुहोस्। दिशा गरेको ठाउँलाई किटाणुरहित बनाउनुहोस्।
पिउन सुरक्षित पानीको प्रयोग गर्नुहोस्।
सबै प्रकारका खानेकुराहरू धुनुहोस्, टास्नुहोस् वा पकाउनुहोस्:
विशेषगरि तपाईंको बच्चाले काँचो फलफुल र तरकारी खाँदै छन् भने त्यसलाई टास्नुहोस् वा सफा पानीले राम्ररी धुनुहोस्। खानुअघि मात्र खाना तयार गर्ने र राम्ररी पकाउने गर्नुहोस्। खाना लामो समयसम्म त्यतिकै राख्दा किटाणु बढ्दै जान्छ र त्यसले गर्दा झाडापखाला हुन सक्छ। खाना पाकेको दुई घण्टापछि तातो बनाइराखिएन वा चिसोमा राखिएन भने खान लायकको हुँदैन। झिंगा भन्केर रोग सार्न नदिन फ्याँकिने खानालाई खाल्डोमा पुर्नु, जलाउनु वा सुरक्षित रूपमा फ्याँक्नुपर्छ।
बच्चा जनमेको पहिलो ६ महिनासम्म स्तनपान मात्र गराउनुहोस् र ६ महिनापछि पनि नियमित रुपमा स्तनपान गराउँदा झाडापखाला हुने खतरा कम हुन्छ।
रोटाभाइरस बिरुद्ध खोपले (जहाँ यो खोप लिने सुझाव दिइन्छ र उपलब्ध छ) जिवाणुको कारण हुने झाडापखाला र यसले गर्दा हुने मृत्युलाई कम गर्न सकिन्छ।
भिटामिन ए र जिंक सप्लिमेन्ट खाँदा झाडापखाला हुनदेखि जोगिन सकिन्छ। भिटामिन ए भएका खानेकुराहरू आमाको दुध, कलेजो, माछा, दूग्ध पदार्थ, सुन्तला वा पहेंलो फुलफुल तथा तरकारी र हरियो सागसब्जी हुन्। झाडापखालाको उपचारको रूपमा १०-१४ दिनसम्म जिंक (चक्की वा झोल) खुवाइएमा लामो समयदेखि र गम्भीर किसिमको झाडापखाला समेत रोकिनुका साथै बच्चालाई भविष्यमा दुई महिनासम्म झाडापखाला नलाग्ने पनि हुन्छ