माया गर्ने व्यक्तिले आत्महत्या गरेपछि मैले किन अझ धेरै आफ्नो ख्याल राख्नुपर्छ
आफूले माया गरेको व्यक्तिले आत्महत्या गरेपछि हुने भावनात्मक चोट र यसले गर्दा हुने उथलपुथलको कारण सामान्य जीवन बिताउन गाह्रो हुन सक्छ। आत्महत्यापछि अगाडि बढ्न गाह्रो हुन्छ। यस्तो अवस्थाबाट निको हुन समय लाग्छ। निको हुन आफैलाई दबाब नदिनुहोस् बरू आफूसित धैर्य र कोमल हुनुहोस्।
यदि कुनै कुरामा ध्यान दिन गाह्रो भइरहेको छ वा बिर्सिरहनुहुन्छ भने तपाईं भावनात्मक तनाव पार गर्दै हुनुहुन्छ र यस्तो कुरा सबैलाई हुने गर्छ। आफैलाई दबाब दिएर कठोर व्यवहार नगर्नुहोस्। दैनिक कामकुराको लागि कसैको मदत लिनुहोस्। सानोभन्दा सानो काम पनि तपाईंलाई निकै ठूलो लाग्न सक्छ, त्यसैले आवश्यक छ भने मदत माग्नुहोस्। तर तपाईं आफै कामकुराहरू गर्न चाहनुहुन्छ भने जति लामो समय चाहिन्छ, त्यति समय लिनुहोस्, जबरजस्ती काम सकाउने कोसिस नगर्नुहोस्।
आफूले स्वस्थकर खानेकुरा खााएको र व्यायाम गरेको छ कि छैन पक्का गर्नुहोस्। यी दुई वटा कुराहरू गर्नाले धेरै मदत पुग्न सक्छ।
आराम गर्नको लागि अपनाउने विभिन्न तरिका पनि लाभदायी हुन सक्छ। कुनै कुराहरू गर्दा आफूलाई आराम मिलेको महसुस हुन्छ भने तिनै कुराहरू गर्नुहोस्। नुहाउनुहोस्। हिंड्डुल गर्नुहोस। आनन्द दिने धुन सुन्नुहोस्। आराम दिने माङ्गा कमिक पढ्नुहोस् वा कार्टुन हेर्नुहोस्।
सम्भव हुने बित्तिकै तपाईंलाई रमाइलो लाग्ने कुराहरू गर्नुहोस्। अनि जीवनलाई फेरि रमाइलो बनाउन थाल्नुहोस्। आफूले माया गरेको व्यक्ति गुमाएको केही समयपछि फेरि आफैलाई मुस्कुराएको, रमाइलो समय बिताइरहेको वा जीवनको आनन्द लिइरहेको पाउनुभयो भने, यस्तो समयमा पनि मैले किन यस्तो प्रतिक्रया देखाएको होला भनेर कहिल्यै पछुतो नमान्नुहोस्। यसो गर्नु भनेको आफूले मायाँ गर्ने व्यक्तिको सम्झनालाई धोका दिएको नभई घाउ निको हुने प्रक्रियाको एउटा सुरुवात मात्र हो।