यौवन अर्थात जवान अवस्थामा मेरो शरीर कसरी परिवर्तन हुन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

हरेक किशोरीहरूले आफ्नो शरीरमा हुने परिवर्तनहरू अनुभव गर्छन्। तर प्रत्येकले फरक-फरक तरिकामा त्यस्ता अनुभवहरू गर्छन्। त्यसैले तपाईंको शरीर तपाईंको दिदी वा साथीहरूको जस्तो देखिदैन भने चिन्ता नगर्नुहोस्।

बढ्ने पहिलो परिवर्तन भनेको तपाईं हलक्क बढ्ने हुन सक्छ। केही समयको लागि, तपाईंको उचाई बढेर आफ्नो उमेरका केटाहरूभन्दा अग्लो हुन सक्छ। तर तपाईंको महिनावारी सुरु भएको १ देखि ३ वर्षभित्रमा बढ्ने प्रक्रिया बन्द हुन्छ।

शारिरीक परिवर्तन छिटो-छिटो बढ्नुका साथै तपाईंको शरीर परिवर्तन हुन थाल्छ। तपाईंको शरीरमा हर्मोन भनिने प्राकृतिक रसायनीक पदार्थहरू हुन्छन्, जसले तपाईंको शरीरलाई बढाउने र यस्ता परिवर्तनहरू गराउने गर्छ।

  • उचाईं र मोटाइ बढ्ने हुन्छ।
  • अनुहार चिल्लो हुने र डण्डीफोर वा दाग आउने हुन्छ।
  • धेरै पसीना आउने हुन्छ
  • काखी मुनी र यौन अङ्‍ग वरिपरि रौं बढ्ने हुन्छ।
  • स्तनले दूध पैदा गर्ने भएकोले यो बढ्दै जान्छ। स्तन बढ्दै जाँदा स्तनको मुन्टो अर्थात टुप्पो कहिलेकाहीं दुख्नु सामान्य हो। एउटा स्तन अर्को स्तनभन्दा छिटो बढ्न सक्छ, तर नबढेको स्तन पनि पछि बढेर लगभग बराबर हुन सक्छ।
  • योनीबाट तरल पदार्थ निस्कने हुन्छ (भिज्छ)।
  • महिनावारी सुरु हुन्छ।

शरीर भित्र तपाईंले देख्‍न नसक्ने अरू परिवर्तनहरू पनि हुन्छन्। पाठेघर, ट्युब, अण्डकोश र योनी बढेर ठाउँ परिवर्तन गर्छ।

तपाईंलाई कस्तो महसुस हुन्छ? यस्ता परिवर्तनहरू हुँदा तपाईंले आफ्नो शरीरबारे अझ ध्यान दिन थाल्नुहुनेछ। तपाईंको चासो केटाहरूतर्फ र साथीहरूतर्फ पनि बढ्न थाल्नेछ। कहिलेकाहीं आफ्नो भावनाहरूलाई नियन्‍त्रण गर्न धेरै गाह्रो हुन सक्छ। महिनावारी हुनुअघिका दिनहरूमा खुसी हुने, रिस उठ्ने र चिन्ता हुने जस्ता भावनाहरू पनि अझ धेरै बढ्नेछ।

महिनावारी (मासिक रक्तश्राव) महिनावारी हुनु भनेको अबदेखि तपाईंले गर्भधारण गर्न सक्नुहुन्छ भनेर देखाउने एउटा चिन्ह हो। कुनै पनि किशोरीले आफ्नो पहिलो पटकको महिनावारी कहिले हुन्छ भनेर थाह पाउन सक्दैनन्। प्रायजसो अवश्थाहरूमा स्तन बढेपछि र शरीरमा रौं आउन थालेपछि महिनावारी हुन्छ। महिनावारी हुनु केही महिनाअघि नै तिनले योनीमा भिजेको जस्तो महसुस गर्न सक्छिन्। त्यसले गर्दा भित्री वस्त्रमा दाग देखिने पनि हुन सक्छ। यस्ता कुराहरू हुनु स्वाभाविकै हो।

केही किशोरीहरू पहिलो पटक महिनावारी हुँदा खुसी हुन्छन्, किनभने तिनीहरूलाई त्यसपछि के हुन्छ भनेर पहिल्यै थाह हुन्छ। किशोरीहरूलाई महिनावारीबारे पहिल्यै बुझाइएन भने पहिलो पटक महिनावारी हुँदा तिनीहरू धेरै चिन्तित हुन सक्छन्। तर महिनावारी बास्तवमा सबै महिलाहरूमा हुन्छ भनेर बुझेमा तपाईं यस्तो कुरालाई स्वीकार्न र त्यसमा गर्व गर्न सक्नुहुन्छ। महिनावारी हुनु भनेको फोहोर कुरा वा लाज मर्दो कुरा हो भनेर कसैले भन्छ भने त्यस्ता कुराहरू नपत्याउनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020803