आकस्मिक अवश्थाहरूमा सुरक्षित पानीको अभाव, स्वच्छता र सरसफाईको कमीले रोगले महामारीको रुप लिन सक्छ। फोहार र धेरै मानिसहरू हुने ठाउँमा हैजा फैलन सक्छ।
रोगले तीब्र रुप लिंदा वा यसलाई रोक्न नसक्दा रोगको महामारी (वा रोगको प्रकोप) फैलिएर आकस्मिक अवस्था सृजना हुन सक्छ। रूघाखोकी र अरू रोगको माहामारी व्यक्तिको नजिकको सम्पर्कबाट सर्छ भने उक्त बिरामीहरूलाई अलग्गै राख्नुपर्छ।
सरुवा रुघाखोकीका लक्षणहरू: धेरै ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने, काम्ने, थाकेको महसुस हुने, बान्ता हुने र पखाला लाग्ने हुन्। कुनै-कुनै बेला रुघाखोकीले गर्दा निमोनिया हुनुका साथै सास फेर्न पनि गाह्रो हुन्छ।
यी कुराहरूबाट बच्न यस्ता साधारण तरिका अपनाउनु राम्रो हो:
साबुन-पानीले वा खरानी-पानीले नियमित रुपमा हात धुनुहोस्।
दिशा र फोहरलाई सुरक्षित तरिकामा हटाउनुहोस्।
सुरक्षित तरिकामा खाना तयार गर्नुहोस्।
सुरक्षित अर्थात स्वच्छ पानी प्रयोग गर्नुहोस् वा घरमा भएको पानीलाई उमालेर, फिल्टर गरेर वा छानेर, क्लोरिन राखेर वा किटाणुरहित बनाउन घाममा राखेर शुद्धिकरण गर्नुहोस्।
पिउन सुरक्षित पानीलाई सफा भाँडोमा छोपेर राख्नुहोस्।
बिरामी भएको खण्डमा घरमै बस्नुहोस् र अरुहरूबाट टाढै रहनुहोस्।
खतराका लक्षणहरू वा संकेतहरूलाई चिन्नुहोस् र बिरामीको कारण अवश्था झनै गम्भीर भएमा के गर्ने र कहाँबाट मदत पाउने पहिल्यै थाहा पाइराख्नुहोस्।
भुँइ सफा राख्नुहोस्।
खोक्दा वा हाछ्युँ गर्दा कुइनाले छोपेर गर्नुहोस् वा टिस्यु प्रयोग गर्नुहोस् र प्रयोग गरिसकेपछि टिस्युलाई सुरक्षित तरिकामा नष्ट गर्नुहोस्।
बच्चाहरूको नजिक वा मानिसहरूको नजिक नथुक्नुहोस्।
विशेषगरि यदि कोही व्यक्तिले खोकिरहेको वा हाछ्युँ गरिरहेको छ र उक्त व्यक्ति अस्वस्थ देखिन्छ भने कम्तिमा पनि एक मिटर टाढा बस्नुहोस्।
सम्भव भएसम्म घरमै बस्नुहोस् र मानिसहरूको जमघटमा नजानुहोस र यात्रा नगर्नुहोस्।